हिजो दिउँसै रात पर्यो


हो, हिजो दिउँसै रात पर्यो ।
एक हुल अन्धकार
हाम्रो घर भित्र छिरे ।
विश्वासघातको अंगालो मारेर,
बदनामीको जञ्जिरले बाधेर,
एकहुल अध्यारो
हाम्रो घरको एउटै उज्यालो
खोसेर लगे ।

पल्ला-घरे भन्छन्
अध्याराहरु उज्यालोसंग डराउछन् !
उज्यालाहरु दिनमै अध्यारो भएको,
र काला, अध्यारा विचारसंग ।
यसैगरी हिजो दिउसै अध्यायो हुदा
टोल भरीका अध्यारा अनुहारले
मेरो अँध्यारो घरलाई गिज्याई रह्यो ।
मैले पहिलो पटक देखे,
जब तिम्रो संसार अँध्यारो हुन्छ
बैमानी संसार कति चाढै
अँध्यारो भएको देख्न सक्छौ ।

जब एक हुल अँध्यारो
एउटै उज्यालो मबाट खोसेर लगे
हिजो दिउँसै रात पर्यो ।

- सुशील ढकाल