यादहरु साँच्चिकै बलिया हुन्छन्

यादहरु साँच्चिकै बलिया हुन्छन्
यति बलिया कि
कसैलाई टुटाउन सक्छन्
कसैलाई फुटाउन सक्छन्
हो यादहरु साच्चिकै बलिया हुन्छन्

यदि तिमी विश्वास गर्दैनौं भने
कि यादहरु बलिया हुन्छन् भनेर
ति यादहरुमा डुब्नेलाई सोध
यादले सताइएका
स्मृतिले बिझाइएका
सम्झनाले खियाइएका
एक एक मनहरुलाई सोध
यादहरु कति बलिया छन् भनेर!

तिमी मलाई सोच्छौ भने
तिमी मसँग उत्तर खोज्छौ भने
म पनि भन्छु
यादहरु साँच्चिकै बलिया हुन्छन्
निको भएका घाउहरु कोट्याइ दिन्छन्
तिमीले बिताउन हुने र नहुने
सबै पलहरुको हिसाब फिर्ता लिन्छन्
बदलामा हासोहरु, आँशुहरु,
आक्रोशहरु, आवेशहरु
सबै सबै फिर्ता दिन्छन्
हो यादहरु साँच्चिकै बलिया हुन्छन्