ए मन

भावनामा बगिदिने ए मन!
भन्न् रोकु तँलाई कसरी?
अर्थहीन हेराइमा पनि
कारणहरुको बिस्कुन लगाएर
विवस्ताले खाडी ओइरिएका
युवा-युवती जस्तै
अर्थको ब्यांक ब्यालेन्स जुटाउन
हरेक रात ओभर टाइम गर्छन्।

नजरको खेलको लागि तर्सिने ए मन!
भन्न् छेकु तँलाई कसरी?
उसको डायरीको माझ-बारीमा
म यसरी गाडिएको पाए
जसरी जर्सी गाईका लागि
किल्ला ठोकिन्छ
तर मन, तँ मझधारमा उभिएर
बगेको खोला फर्किने आशमा
जिन्दगीको असिना र बर्षा
अझै कति खेप्दै छस्।

निराशा र नियतिले भिजेको ए मन!
भन्न् बोकु तँलाई कसरी?
नियमित उल्झनले निष्क्रिय भएको
पुरानो कारखानाको
पुरानो पुर्जा जसरी 
घोटिदै, पिटिदै
खोल्सोको भ्यागुतो जस्तैः 
घरीघरी सुसाउदै
ऐठनले मुर्छा परेको मान्छे जस्तै
अझै कति पर्खदै छस्?