Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

ए मन

भावनामा बगिदिने ए मन!
भन्न् रोकु तँलाई कसरी?
अर्थहीन हेराइमा पनि
कारणहरुको बिस्कुन लगाएर
विवस्ताले खाडी ओइरिएका
युवा-युवती जस्तै
अर्थको ब्यांक ब्यालेन्स जुटाउन
हरेक रात ओभर टाइम गर्छन्।

नजरको खेलको लागि तर्सिने ए मन!
भन्न् छेकु तँलाई कसरी?
उसको डायरीको माझ-बारीमा
म यसरी गाडिएको पाए
जसरी जर्सी गाईका लागि
किल्ला ठोकिन्छ
तर मन, तँ मझधारमा उभिएर
बगेको खोला फर्किने आशमा
जिन्दगीको असिना र बर्षा
अझै कति खेप्दै छस्।

निराशा र नियतिले भिजेको ए मन!
भन्न् बोकु तँलाई कसरी?
नियमित उल्झनले निष्क्रिय भएको
पुरानो कारखानाको
पुरानो पुर्जा जसरी 
घोटिदै, पिटिदै
खोल्सोको भ्यागुतो जस्तैः 
घरीघरी सुसाउदै
ऐठनले मुर्छा परेको मान्छे जस्तै
अझै कति पर्खदै छस्?

यादहरु साँच्चिकै बलिया हुन्छन्

यादहरु साँच्चिकै बलिया हुन्छन्
यति बलिया कि
कसैलाई टुटाउन सक्छन्
कसैलाई फुटाउन सक्छन्
हो यादहरु साच्चिकै बलिया हुन्छन्

यदि तिमी विश्वास गर्दैनौं भने
कि यादहरु बलिया हुन्छन् भनेर
ति यादहरुमा डुब्नेलाई सोध
यादले सताइएका
स्मृतिले बिझाइएका
सम्झनाले खियाइएका
एक एक मनहरुलाई सोध
यादहरु कति बलिया छन् भनेर!

तिमी मलाई सोच्छौ भने
तिमी मसँग उत्तर खोज्छौ भने
म पनि भन्छु
यादहरु साँच्चिकै बलिया हुन्छन्
निको भएका घाउहरु कोट्याइ दिन्छन्
तिमीले बिताउन हुने र नहुने
सबै पलहरुको हिसाब फिर्ता लिन्छन्
बदलामा हासोहरु, आँशुहरु,
आक्रोशहरु, आवेशहरु
सबै सबै फिर्ता दिन्छन्
हो यादहरु साँच्चिकै बलिया हुन्छन्

यदि

टिपी ल्याउथे गुलाव पनि
यदि खुशी हुन्थ्यौ भने!
अंगालो मै जुनी काट्थे
यदि साथ दिन्थ्यौ भने!


हराएर एकाअर्कामा
यदि खुशी हुन्थ्यौ भने!
अंगालो मै शुन्य हुन्थे
यदि साथ दिन्थ्यौ भने!


टिपी ल्याउथे तारा पनि
यदि खुशी हुन्थ्यौ भने!
अंगालो मै जुनी काट्थे
यदि साथ दिन्थ्यौ भने!


#एक्लैबस्दा


माथी

माथी आकाशमा झुल्किरहने जुनहरु,
कति आफै भित्र जलेका हुन्छन् ।
सधै-सधैं अस्ताउने सुर्य पनि
बाध्यताका जञ्जालमा फसि
कति आफै भित्र बलेका हुन्छन् !

मेरी आमा

घरका आगनमा,
रहर भित्राउने सपना बोकि
मेरि आमा प्रहर तोडि
मनका बिस्कुन लगाउछिन् ।
ती कम्पन भोगी हातहरु
संसारलाई आफ्नो मुठ्ठीमा पार्न
नहड्बडाई नडराई
शाहसी कदमलाई अगि सार्छिन ।
लाग्छन् पछि धेरै
चाहन्छन् डगमगाउन पाइलाहरु
सारा संसारको कोलाहललाई पछि छोडी
उनी अविरल बगिरहन्छिन
अझै अघि घिस्रि रहन्छिन ।

चैतका तिखा घामहरुलाई  चुनौती दिदै
श्रावणका बर्षा संग जुध्दै
खिइएका हाडहरुलाइ बतासले दुखाउदै
मेरी आमा हरेक रितुसंग सामना गर्छिन
के तिनी थाक्दिनन् होलिन्
मोटा डस्नामा ती थकित शरिरलाई
बिसाउन चाहन्नन होलिन्
तर उनको इच्छाको कसलाई पिर
कसलाई चिन्ता न कसैको शिर
आहात र मुर्छित सम्झनालाई
पुरानो सन्दुकमा बन्द गरेर
थोता हासोको मन्द-मुस्कान फैलाउछिन्।
आफ्ना मनलाई बहलाउछिन ।

गोठ देखि वन जङ्गल सम्म
चुला देखि पधेरी सम्म
भोको पेटमा केही दाना अन्न लिएर
लड्छीन जिवनरुपी युद्ध
सबेर बाट अधेरी सम्म
पारिवारिक सुखबाट बन्चित रहेर
धैर्य र इच्छाशक्तिको उदाहरण भएर
स्यहार सुशारको प्यासी बनेर
हरेक रातका औठनलाई
जीवनसाथी बनाएर
तड्पदै, छट्पटाउदै
आत्तिदै रित्तिदै अनि चुअडिदै
नयाँ बिहानको आशामा
बिसाइ दिन्छिन मझेरिमा
त्यो ओइलिएको शरिरलाई ।।

श्रीअंश और निशा



कहिले कहिँ हिन्दिमा कविता लेख्न खोज्दा !

मेरो शहर

कहिले थकाई दिन्छ,
कहिले मायाले फकाई दिन्छ ।
तिमीलाई सबै भुलेर रम्नु छ यहा,
खुशीमा झुम्नु छ यहा ।
किनकि यो शहर हो मित्र शहर !
कहिले कहिँ मन खुशी हुन्छ ।
त्यति बेला यो शहर पनि सुखी हुन्छ ।
गाडीका चर्का हर्न पनि मिठो संगीतमा परिवर्तित हुन्छ ।
भिड बस भित्र चर्का वादविवादमा,
तिमीलाई पनि सामिल हुने मन गर्छ ।
दिन छिपिदै जान्छ अनि रात ढल्दै जान्छ ।
प्रदुसित हावाले केश हल्लाइदिदा पनि,
तिमीलाई यो शहरमा स्वोर्गको बास लाग्छ ।
यहाँको भोक,
यत्रतत्र फैलिएको शोक ।
बाहिर निस्किदै गरेको बिजोगमा,
तिमीले यो शहरलाई
यति सन्तुलित पाउछौ,
यति सुखमा डुबेको पाउछौ ।
यहाँ आकाशलाई आफ्नो घरको छानो सम्झने धेरै छन् ।
यहाँ एक मनोमा जीवन बिताउने धेरै छन् ।
यहाँ त दुख भित्र पनि सुख छ ।
आशु भित्र पनि हासो छ ।
जहाँ तिमी गंगाको पानी पिउन पाउछौ ।
शहरहरु माझ यो शहर सबै भन्दा जिउदो पाउछौ ।
के तिमीले भुल्न सकौलार यी गाली र चोकहरुलाई ?
यहाँको दोबाटो र फुटपाथहरुलाई ?
तिमीले जीवनको केहि अंश बाचेको,
कसैसँग कहिले अंगालोमा बाधिएर हासेको ।
यो सहर हिजो जस्तै थियो आज पनि त्यस्तै छ ।
मैलाएर आफुलाई फगत तिम्रैलागि हास्दै छ ।
सकी नसकी बोझ उठाउदै आज पनि बाच्दै छ ।
तर एकपटक खुशी भएर हेर ।
यो शहरको धड्कनमा रहेर हेर ।
बिहानी-पख बेसुरे काँ-काँ कराई,
तिम्रो निन्द्रा तोडीदिने कागको आवाज पनि मधुर लाग्छ ।
धर्मको संगम हो यो,
नास्तिकका मनमा पनि आस्था जाग्छ ।
निस्वार्थ छ, न केहि चाहन्छ न केहि माग्छ ।
सारा दिन मुस्कुराई रहन्छ, सारा रात जाग्छ ।
मलाई यो शहर अपूर्णतामै स्वोर्ग लाग्छ ।
मलाई यो शहर मेरो आफ्नै लाग्छ ।

पर्खी बसे !


हामी भित्रका कुराहरु

अस्तब्यस्तताको जञ्जालबाट
बाहिर निस्किएर
केही क्षण कुरा गर्नु छ तिमी संग ।
बाट्नु छ मनमा भकारी बनी
थुपृएका कुराहरू ।
निकाल्नु छ मनमा जरा बनी
बल्झिएक संकोचहरु,
दिमागका हरेक कोठाहरुलाई
ओगटी बसेका बोझहरु ।
हामी भित्र भिन्नताको
बिजारोपन गर्ने सोचहरु ।
मेटाउनु छ सबै आज
बर्सौ देखि थुपृएका बोझहरु ।।

बिश्वास

कस्को बिश्वास ?
कस्तो बिश्वास ??
गर्न आट नहुने
सायद गरे घात हुने
यहीँ हो र आश
अन्धोपनको सुवास ?
एकअर्को माथी गरिने बिश्वास ?
या उसैको लागि फेरिने
प्रत्येकको श्वास ?
यो कस्को बिश्वास ?
यो कस्तो बिश्वास ??

भाग

चम्किलो चन्द्रमा मा पनि
बाक्लो दाग छ ।
के पाउने के गुमाउने
के सबै भागमा छ ?

हसिलो मुहारमा पनि
भिजेको परेली छ ।
सुखदुःख सब छ
तर के कति भागमा छ ?

उ हेर आकाशमा
बादलुको दाग छ ।
के पाउने के गुमाउने
के सबै भागमा छ ?

त्यो घर

घरका हरेक सुन्य कोठाहरु
ती भित्र राखिएका सामानहरुले
तिनलाई चलाइदिने
हासो र बोलाइका गुन्जन फैलाइदिने
आश मै बसेको छ कति साल देखि
सम्झनाले कति सिरानी भिजाइदिन्छ्न
जाउ फर्केर त्यो घर
तर अचेल, घरका भित्ताजरुले
गिजाइ रहन्छन् जिस्काइ रहन्छन् !

शोकेस र दराज पनि
आफ्ना प्रयोगकर्ताको खोजीमा छन् 
तर ती सुन्यतामा भिड खोज्दै थिए
अनयासै असम्भव जीवन रोज्दै थिए 
तर कहिलेकाहीँ म झुक्किएर
त्यो घर पुग्थे र कोठामा पस्थे
आग्रह र ब्याग्रताका जञ्जालमा फस्थे 
मेरो मनले त्यहा वार-वार फर्कन
रिजाइ रहन्छ
तर अचेल, घरका भित्ताजरुले
गिजाइ रहन्छन् जिस्काइ रहन्छन् !

चुहिएको धुरीबाट
तल भुइँमा बनेका डामहरु
मेटिदिएछ्न बालापनमा लेखेका
भित्ताका नामहरु
घरका छिडी, मटान र वारदली पनि
मलाई फर्काउन रिजाइ रहन्छन् 
तर अचेल, घरका भित्ताजरुले
गिजाइ रहन्छन् जिस्काइ रहन्छन् !

मेरो आफ्नै बाध्यता
घरको आफ्नै बालहठ जिद
अचेल हाम्रो सम्बन्ध
मित्रता बिनाको मीत
पात बिनाको शीत
मेरो एक मन घरसंग सामना गर भन्छ
अर्को भाग्न सिकाइ रहन्छ
फर्केर जाउ त्यो घरमा फेरि
तर अचेल, घरका भित्ताजरुले
गिजाइ रहन्छन् जिस्काइ रहन्छन् !

खै कहाँ छ मेरो देश ?

खै कहाँ छ मेरो देश ?
रुदै छ या हास्दै छ ?
या झोक्राएर कुनामा छ ?
या फुर्किएर नाच्दै छ ?
छ मेरो देश कहिँ कतै ।
तर कहाँ छ ?

जालहरुमा फस्दै !
या उनमुक्तिका लागि कम्मर कस्दै ?
या प्रचण्ड घाम सहदै,
या बर्षात र हिमपातमा फस्दै ?
यो सानु मुटुमा ,
मेरो बिशाल देश ।
म भित्र-बाहिर गर्छ ।
तर आज कहाँ छ मेरो देश ?

गीत भएर गाइदिए ।
शीत बनेर सजिदिए ।
कहिले मेरो देश टोलाउछ ।
कहिले बोलाउछ ।
म खोज्छु पहाड-कन्धरामा ।
र तराईका घर-घरमा ।
हिजो सम्म मेरो वरिपरि !
तर आज कहाँ छ मेरो देश ?

बा, हामी र हाम्रो देश

अचेल मलाई पत्रिका पढ्ने मन गर्दैन
यत्र तत्र सबै ठाउँमा समाचार
म भाग्न चाहान्छु अखबारबाट टाडा
हेडलाईनस ले मन छिया - छिया पारेको छ
अचेल जनता र जवान उत्तिकै शंख्यामा मर्दै छन्
बिधुवा र टुहुरा हरुको शंख्या बढ्दै छ
कसलाई सुनाऊ ?
मेरो देश मा आगो सल्किएको छ
दुश्मन फाइदा उठाउन पल्किएको छ

बा, तर तिमी आँखा चिम्ल
सोच केहि भएको छैन
ति मर्ने तिम्रा सन्तान हैनन्
बरु बा,
तिमी महँगो पलंग मा लामपसार पर
भाषण दिन कहिले पिंडीमा झर
बा हामी सबै मिलेर जनताको तन्त्र ल्यायौं
हामी गरिब को गरिव,
तर तिमीले धनी हुने मन्त्र पायौ

भूकम्पमा धरहरा ढल्यो
तर तिम्रो खाईमारा गर्धन उठ्यो
तिम्रो घरमा ग्यास अनि बिजुलीको बत्ति बल्यो
गरिवका चिताहरु ति संगै जल्यो
तिमी ब्यापारी भयौ बा
तिमी धेरै माथि गयौ बा


तिमीले तिम्रा साथीहरु संग मदिरा सेवन गर्दा
हाम्रा बलिदानका सोडा मिसायौ
अनि रक्सी संगै हाम्रा रहरका सितन खायौ
हामी सबै मिलेर राजा धपायौ
तर बा , तिमीहरु सबै राजा भयौ

बा, सुनेको छु,
अलिकति ऋण लागेको छ रे
महाकाली बिक्यो,
सुस्ता र लिपू पनि बिक्छ रे
लिपुमा झन्डा गाड्न जाने
ति मुर्खहरु लाई के थाहा र
काग कराउदै गर्छ, पिनाश सुक्दै जान्छ


बा तिमी कति महान
लेख्दै छौ संबिधान हाम्रा लागि
ती अबुझ हरु भन्छन
ल्यायौ रे कतै बाट मागी
तै बा तिमीले,
जल-बिधुत परियोजना चाडै रोक्यौ
नत्र मोमबत्ती बनाउने कारखाना कहाँ चल्थे र
हरेक विद्द्यार्थी को कोठामा
कहाँ टुकी र लाल्टिन बल्थे र

बा तिमी कति मेहनती
हामीलाई मेहनत गर्न सिकौछौ
युवालाई खाडी देशहरु मा
अनि युवती लाई रेड लाईट एरिया मा बिकाउछौ
हाम्रा चेलीहरुको अस्मिता
विदेशमा लुटिएको छ
दाजुभाई हरुलाई ग्याङ्ग लगाएर कुटिएको छ

बा भन्दिए उनीहरु लाई ,
मोही पार्न मदानी घुमाउनु पर्छ
केहि पाउन केहि गुमाउनु पर्छ 

बहादुर

हो म बहादुर,
म बहादुरको छोरा,
बहादुरको नाति अनि
बहादुर छोराको बाबु  ।
मेरो खुकुरी को धार र मेरो मालिकको बोली
म पहरा दिदै उनको घर बिना बन्दुक गोलि ।
हो मेरो नाम बहादुर र मेरो साथी खुकुरी
तिम्रो गेट मेरो संसार, बस्छु रात दिन कुरी ।
तिमी गर्दा गेट बाहिर अनि भित्र
म बस्छु हेर्दै तिम्रा महँगा गाडी अनि मित्र ।
तिमी बिहान आफ्नो कुकुर संगै दौडिन निस्कदा
म जागेको हुनुपर्छ तिमीले देख्दा ।
जब रातमा तिमी बिना चिन्ता सुत्दा
या घडीका घण्टीहरु को आवाजले तिमी उठ्दा ।
या कहिलेकाहीं म तिम्रा रिसको झोकमा पर्दा
म बाचेनी बहादुर अनि बहादुर म मर्दा ।।

अभागी गरिवी

परालले छाएको घर छ
हर वर्षात चुहिने डर छ
हाम्रा कति पुस्ता यहाँ जन्मे 
म पनि त यहाँ हुर्के
आंधी–बेहेरिले मन कटक्क खान्छ
जस्ताले छाउने मन छ 
तर मेरो रित्तो खल्ती 
बाऊ–बाजेको पैसा कमाउने अर्ती
र्बैंकलाई सुम्पेर घर–बारी
जान मन लागेको छ विदेश यसपली
तर म अभागी र मेरो गरिवी ।।

कहिले–काहीँ झुन्डेर मर्ने मन गर्छ 
ती लाला–बाला, मेरी बुढी आमा र 
मेरो अभागी जीवनको साथी,
मेरी श्रिमतीको याद आउछ
मनभरी दुःख बटुलेर,
म आँगनमा, पुरपुरोमा हात राखेर
जीन्दगी संग वाक्क–व्याक्क भएर
त्यो फाटेको शर्ट सिलाउने
गैरी–खेत बेची ऋण मिलाउने
म सपना देख्छु 
यो पापी पेटको भोक मेटाउनु छ 
वाल–वच्चाको जिउ ढाक्ने कपास भेट्टाउनु छ
तर म अभागी र मेरो गरिवी ।।


म संगै हुर्के बढेका, परदेशी भुमीमा छन्
उनीहरुको टिलिक्क जस्ताले छाएको घर छ
२ – ३ शालमा घर आउछन्
रंगिन जीवनको कथा सुनौछन्
भन्छन् तँ पनि विदेश जा 
दुःख छ, तै पनि पैसा कमा
वेदिशी रक्सीका स्वाद सुनाउछन्
विदेशी भाषामा खै के के गुनगुनाउछन्
विदेश जान पैसा लाग्छ
म संग फगत धितोमा हाल्न हुने गैरी खेत छ
त्यहि मेरो सम्पति
त्यसैको साहरामा चल्ने पाँच पेट छन्
मलाई आफनो शरीर को भर छैन 
मलाई मर्न डर छैन
तर म मरुला
खरानी बनेर खोलामा झरुला
के होला मेरो परिवार को?
यही प्रश्नले मेरो मन हर दिन–रात खान्छ
एक मन ले परदेश जा भन्छ, अर्कोले नजा भन्छ
म अल्मलिएको छु
जीवन संगै अल्झिएको छु 
तर म अभागी र मेरो गरिवी ।।


हर चाड–वाड संगै
मेरो गरिवी र विवस्ता बाहिर देखा पर्छ 
घरमा मासु खाने मन गर्छन्
गाँउ भरीको म खसी काट्छु
बदलामा थोरै मासु माग्छु
तर नयाँ लुगा र दक्षिणाको समस्या
समस्या मै सिमित भइ दशैं जान्छ
हर शाल बजारको सबै भन्दा सस्तो – सारीमा बेरेर
गाँउ भरिका फलेका अम्बालाई – कोसेली बनाएर
म श्रिमतीलाई माइती पठाउछु 
म टिका थाप्न ससुराली जान चाहन्छु
तर मेरो च्यातिएको शर्ट र फाटेको स्टकोटले रोक्छ
अनि समस्याको भारीले थिचिएको मनलाई भुल्यौन
गाँउमा खेलिने जुवा–ताश को दर्शक बन्छु
मलाई रक्शीमा मतिने मन छ
इच्छाहरुको पहाड चड्ने मन छ 
तर म अभागी र मेरो गरिवी ।।


शालमा दुखले ४–५ छाक भात
कहिले त ढिडो मै वर्षा बित्छ 
मेरो विवस्ता र परिस्थिति कसलाई देखाएर रुनु
रोए आँशु संसारले देख्छ
मेरी बुडी आमाको  काखमा शिर राखेर 
रोइ–रोइ मलाई आँशु सक्ने मन छ
म अत्तालिएर रोउ, बच्चा बेला जस्तै
तर आमाको पोल्टो आज खाली छ
गाँउ भरि यत्र–तत्र पाईने रंगिन टिवीमा 
रंगिन दुनिया हेरेर मेरा वच्चा साँझमा घर फर्कन्छन्
हाम्रो घरमा टिवी कहिले ल्याउने भन्छन्
हामी कहिले दुई छाक भात खाने भन्छन्
हजुर–आमाको फुटेको चस्मा कहिले ठिक गर्ने भन्छन्
आमालाई लिविस्टिक–चुरा खै भन्छन्
म मेरो परिवारको इच्छाहरु
करेसा–बारीमा आँशु बनाएर झारीदिन्छु ।।

काँहा जाउ ?


मेरो अफ्नै घर भएर पनि
जाउ म कहाँ जाउ ।
म आफ्नै रहर बेची
कुन मुलुकको शहर जाउ ।
म अँखा देख्ने अन्धो मान्छे 
कुन बाटो रोजी जाउ ।
म हिड्ने मैले देख्ने बाटाहरु
प्रतिबिम्बित गराएर कहाँ जाउ ।
असंख्य पाइला चाल्ने प्रहरहरु
कस्लाइ सुम्पेर जाउ ।
म जाउ त कहाँ जाउ ।।

नेपाली भएर हेर

तिमी सात समुन्द्र पार गर,
कुशलताले बैभवशाली सिखर चढ़,
ति हजारौ ओत बटुली
लाखौंलाई आश्रय देउ ,
न्याय र शान्तिका लागि
तिमी आफ्नै देह सुम्प,
कम्मरमा खुकुरी भिरी
तिमी यस्तो इतिहाश केर,
त्यही विरका सन्तति हौ भने
एक पटक नेपाली भएर हेर

विकाशका मैदान र पहाडका उकालिहरुमा
ति हिमालका कहाली लाग्दो भीरहरु मा
तिमी हिड्ने गोरेटो र दोबाटोमा
कहिले नथाक्ने प्रतिज्ञा  संगै
समपरणका मालाहरु भिरेर
घर-परिवारबाट यति टाडा
पसिना र हातका ठेलाहरुलाई साथी बनाई
एकपटक नेपाली परिवेशमा शास फेर
तिम्रो सरिमा त्यहि रगत बग्दै छ भने
एक पटक नेपाली भएर हेर 

म भइन भने

म रहिन भने, आँखा भरि आँशु, नलिनु तिमी
सम्झिएर पलपल तिमि गह नभरिदिनु
उदाएका घाम संसार भरि-भरि छन्
म त अस्ताइसकेको, तिमी उदाएका घाम चुनिदिनु

म फर्किन भने, गोरेटो र दोबाटोमा नकुरी दिनु तिमी
बटुवाको भिडमा नभेटुला म, फर्कने रहर नबुनिदिनु
म त बगेको खोला, सगर संग मिलिसके
खहरेमा गएर मलाई, कहिले नसुनिदीनु

म नबोले भने; मलाई झस्काउने, फकाउने नगर तिमी
मेरो आवाज अस्ताइ सके, मेरो छेउ गुनगुनाउने नगरिदिनु
म मेरो प्यारो साथी एक्लोपन संग हुनेछु
तिमी आंदी बनि त्यो साथीलाई नभगाईदिनु

म निधाए भने, मलाई मिठो निन्द्रा दिनु तिमी
म सपना देख्दै हुनेछु, बिउताउने कोशिस नगरिदिनु
सोच्नु म लामो निन्द्रामा महल बनाउदै छु
तिमी आफ्नो स्वार्थको लागि, त्यो महल नभत्काइदिनु 

फर्केर जाउँ

केहि  भएर जाउँ, केहि बनेर जाउँ
आमाको आँशु पुछ्न ढिलो भए पनि जाउँ

यहाँ महल बनाउने सपनालाई बेची
चिल्ला गाडी अनि हावा उड्ने
केहि मन पर्ने अनि इर्श्या गर्ने दुश्मनलाई छाडी
देखेका हजारौ सपनासंग मुख मोडी 
विकाशको बिज रोप्न र परिवर्तनको फुल फुलाउन 
रेल-गाडीमा गुडेर जाउँ, हावामा उडेर जाउँ
आफ्नो गाउँ, आफ्नो ठाउँ; सम्झेर जाउँ

सिकेका सिप बटुली, लागेका इख बटुली
भोगेका भोगाईहरुलाई थैलोमा राम्ररी सम्हाली
बेइज्जतीलाई यहाँको अमूल्य उपहार सम्झी
खाएका चोट अनि पाएका हारबाट सिकी
राजनीति-कारणको आफ्नो पहिचानलाई फ्याकी
म नेपाली, तिमी नेपाली अनि हामी नेपाली भनि
रात पर्नु भन्दा पहिले नै जाउँ
आफ्नो माटो, बालापन हिंडेको बाटो; सम्झीएर जाउँ 

यहाँ बसेर देश बिगारे भन्नु भन्दा, सुन्नु भन्दा अरु
पश्चातापमा जलेर मर्नु भन्दा, वर्तमानमा उभिएर बरु
कर्मठ यी हातहरुलाई, एकअर्काको साथहरुलाई
मिलेर विकाशको योजना गर, सबै जिम्मेवारी भन्दा अगि सर
सयौं थुंगा फूलका हामी मिलेर गाउ
हामीलाई हाम्रो पहिचान दिलाउने; भाग्यसंग मिलाउने
प्यारो देश नेपाल मिलेर जाउँ, फर्केर जाउँ

(सम्पूर्ण प्रवाशी नेपालीहरु प्रति समर्पित गर्दै आदि कवि भानुभक्त आचार्यको २०१ जन्मजयन्तीको दिन वाचन गरिएको)